काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा पछिल्लो पटक यही असार ५ गते दुई जनामा हैजा संक्रमण पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा यस वर्ष पहिलो पटक हैजा पुष्टि भएको थियो । हैजा पुष्टि भएका दुई जना काठमाडौं महानगरपालिका–२८ बागबजारमा बस्दै आएका थिए ।
तर हाल भने काठमाडौं उपत्यकामा हैजा संक्रमितका संख्या १२ पुगेको छ । उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि संक्रमित भेटिएको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले पनि जानकारी दिएका थिए । तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ ।
उपत्यकाका बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बोहोराटार, बल्खु, थानकोट र नैकाप गरी नौ वटा ठाउँका १२ जनामा हैजा संक्रमण देखिएको छ । हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणूको संक्रमणका कारण हुने गर्दछ । चिकित्सकहरुका अनुसार यो सामान्यतया झाडापखाला जस्तो देखिने तर त्यो भन्दा गम्भिर प्रकृतिको संक्रामक रोग रहेको छ ।
सतर्क अपनाउन आग्रह
उपत्यकामा हैजाका संक्रमित बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका सबैलाई सतर्क रहन र हैजा सम्बन्धी कुनै पनि लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थासँग सम्पर्क गर्न आग्रह गरेको छ । संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुन यो भाइरस संक्रमणभएको केहि घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरु देखिने बताउँछन् । संक्रमण भएको लक्षण देखिन थालेपछि तत्काल उपचार नभएमा बिरामीको मृत्युसमेत हुन सक्ने डा. पुनको भनाइ छ ।
डा. पुनका अनुसार अन्तर्राष्ट्रिय रुपमै हैजाका १० जना बिरामी मध्यमा एक जनालाई कडा किसिमको संक्रमण हुने तथ्यांक छ । उपचारको अभावमा भने मानिसको मृत्यु हुने सम्भावना ५० प्रतिशत सम्म रहेको छ । काठमाडौं उपत्यकामा देखिएको हैजा संक्रमण विशेषगरी पिउने पानीको कारणले भएको चिकित्सकहरु बताउँछन् । यो रोग पिउने पानी र खानेकुराबाट सर्ने गर्दछ । त्यस्तै व्यक्तिगत सरसफाइमा ध्यान नदिने, संक्रमित भएको व्यक्तिको सम्पर्कमा आउने कारणले गर्दा यो रोग सर्ने गर्दछ ।
काठमाडौं उपत्यकामा केहि समय अगाडि थुप्रिएको फोहोरका कारणले पनि उपत्यकामा हैजा देखिएको हुन सक्ने डा. पुन बताउँछन् । यसर्थ व्यक्तिगत सरसफाइमा ध्यान दिन, सफा पानी वा उमालेको पानी मात्र पिउन तथा रोगको लक्षण देखिएको व्यक्तिको सम्पर्कमा नआउन डा. पुनले आग्रह गरेका छन् । उनले कहिँकतै सो रोगको लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न ढिला नगर्न समेत आग्रह गरेका छन् ।
पदम भुजेल
