बुटवल,२३ असार । बुटवल–नारायणगढ सडक विस्तार कार्य साढे ३ वर्षमा १९ प्रतिशत हुँदैछ । काम सम्पन्न गर्ने म्याद एक महिनामात्र बाँकी रहँदा निर्माण कार्य एक चौथाइसमेत हुन सकेको छैन । २०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको थियो ।
काम थालेको ४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम भएको अवस्था छ । २२ साउनभित्र सक्ने गरी निर्माणको जिम्मा लिएको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर सो निवेदनको विषयमा कुनै निर्णय नभएको सडक कार्यालयले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ चैत ०७५ मा उक्त सडक विस्तार कार्यको शिलान्यास गरेका थिए ।
उक्त १ सय १४ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाएपछि बुटवलबाट नारायणगढको यात्रा डेढ घण्टाको हुने अपेक्षा गरिएको छ । नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्डका अलगअलग कार्यालय स्थापना गरे पनि काम भने दुवैतिर सुस्त देखिन्छ । चिनियाँ कम्पनीले सडक विस्तारका लागि रुख कटान गरेको छ भने विद्युत् पोल सार्ने र खानेपानी पाइप पर्ने ठाउँमा त्यसको व्यवस्थापन गर्ने काम भएको छ ।
बुटवल–बर्दघाट सडकखण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत काम भएको प्रमुख इन्जिनियर प्रदीप शाक्यले बताए । उता बर्दघाट–गैँडाकोट क्षेत्रमा हालसम्म १८ प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । बुटवल–बर्दघाट सडक खण्डमा २४० वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा अहिलेसम्म ५० वटा कल्भर्टको मात्रै काम सकिएको । यस्तै, ९ वटा ठुलो पुल बनाउनुपर्नेमा ३ वटा मात्रै सम्पन्न भएका छन् । सडक खण्डमा ११ हजार मिटर नाली बनेको छ भने माटो भर्ने काम २४ किलोमिटर क्षेत्रमा भएको कार्यालयले दावी गरेको छ ।
यस्तै १० वटा साना पुलको काम सकिएको छ भने अझै दुईवटा पुल बनाउन बाँकी रहेको छ । कल्भर्ट २ सय १५ मध्ये १ सय ३१ वटा निर्माण भएका छन् । अरुण खोला, विनयी खोला लगायतका ठुला पुल निर्माणको काम आधाजसो भएको छ । सो खण्डमा पर्ने रुख कटानको काम करिब ९९ प्रतिशत सकिएको बताइएको छ । उक्त सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको थियो ।
