बाढी र रोगका कारण अर्ना र बाह्रसिंगे लोप हु्ँदै, संरक्षणमा सरकार पक्ष मौन

बाढी र रोगका कारण अर्ना र बाह्रसिंगे लोप हु्ँदै, संरक्षणमा सरकार पक्ष मौन


  • 8.1K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    बाढी र रोगका कारण अर्ना र बाह्रसिंगे लोप हु्ँदै, संरक्षणमा सरकार पक्ष मौन

     चितवन । वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिंगे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिंहे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो । 

    images

    सोमबार तीन अर्नालाई बाघले आक्रमण गरेपछि निकुञ्ज अर्नाविहीन भएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिएका छन् । निकुञ्जले पानी छिर्ने ठाउँबाट बाघ पसेर ती अर्ना मारेको अनुमान गरेको छ । यसअघि पनि एउटा अर्नालाई बाघले मारेको थियो । तत्कालीन समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ अर्ना सबै मरेको निकुञ्जले जनाएको छ । मरेका अर्नामध्ये चारवटालाई बाघले मारेको हो भने बाँकी रोग र बाढीले बगाएको जनाइएको छ । 

    संरक्षक आचार्यले अर्ना संरक्षणका लागि प्रयास गरिएको भए पनि सफल हुन नसकेको जिकिर गरेका छन्् । गत आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनाको अवधिमा १० अर्ना मरेका थिए । साउनदेखि मंसिर मसान्तसम्ममा ती अर्ना मरेका हुन् । सो अवधिमा छ भाले र चार पोथी अर्ना मरेका जनाइएको छ । बाँकी रहेका तीन पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको संख्या शून्य भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये दुई पोथी ल्याउनेवित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको एक बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको छ । 

    तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ पाँच भालेसहित २५ बाह्रसिंगे ल्याउने योजना थियो । निकुञ्जमा ल्याएलगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको जनाइएको छ । निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुला खोर (इन्क्लोजर) निर्माण गरेर कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो । चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि विसं २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ अर्ना निकुञ्जमा ल्याइएका थिए । अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो । विसं २०७४ मा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए ।

    Arna and Barasinghe.jpg

    अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमीमा बस्न रुचाउँने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् । सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थ्यो भन्ने भनाइ छ । त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए । निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ वर्षअघि नै अर्ना यहाँका जंगलबाट लोप भएको संरक्षणकर्मी बताउँछन् । निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनास हुनु, अर्नाको चोरी शिकारी हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरुले कारण मान्दै आएका छन् ।

    कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो । कोसी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारी बताउँछन् । 

    विसं २०७१ मा नै सरकारले पाँच भालेसहित २० अर्ना निकुञ्जमा ल्याउने निर्णय गरेको थियो । पछिल्लो समय मर्न थालेपछि नल्याइएको जनाइएको छ । अर्नाको सरदर आयु २५ वर्ष हुन्छ । यिनीहरुले आफ्नो जीवनकालमा पाँच वटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना तीन÷चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजननयोग्य हुन्छ ।