हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्।
पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।
गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।
मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेको र त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह गरेका हुन्। उनीहरूले विवाहपछि कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवाआमालाई खाना खुवाएर विवाह सम्पन्न गरेको बताए।
'सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ,' उनले लेखे, 'परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद।'
