भिडियो रिपोर्ट
वाग्मतीमा सफा पानी बग्ला ?

वाग्मतीमा सफा पानी बग्ला ?


  • 8.4K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    वाग्मतीमा सफा पानी बग्ला ?

    काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरकै आकर्षक वाग्मती नदीमा आगामी कात्तिकदेखि सफा पानी बग्ने भएको छ । वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै नदीमा सफा पानी बग्ने पक्कापक्की भएको हो ।
     
    समुद्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित ठूलो तथा आकर्षक पोखरी नेपालमै पहिलो भएको आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले दाबी गरे ।

    images

    धाप परियोजना नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ५१ करोड रुपैयाँ रहेको छ । वाग्मती धाप परियोजना गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्छ ।  यहाँ जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि वाग्मती नदीमा पठाउने तयारी भइरहेको बुझिएको छ ।

    सन् २०१५ देखि धाप ताल ड्यामको काम सुरु गरिएको ताल १५८ रोपनीमा फैलिएको छ । धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षामा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । निर्माण हुँदै गरेको धाप तालबाट सुक्खायाममा प्रतिसकेन्ड ४० लिटरका दरले वाग्मतीमा आठ महिनासम्म पानी बगाउन सकिने प्रमुख इन्जिनियर छतकुलीले जनाए ।

     
    ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले वाग्मतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै बेला पनि वाग्मतीमा पानी बगाउनु धाप परियोजनाको उद्देश्य भएको इन्जिनियर छतकुलीले प्रस्ट्याए ।
     
    धापबाट वाग्मतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउन ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जाइकाको अध्ययनको निष्कर्ष छ । धाप तालमा सुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्योभन्दा धेरै मात्रामा जम्मा गर्न सकिने अध्ययनले देखाएको छ ।

    भ्याटबाहेक ४५ करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपैयाँ बढी रकममा धाप निर्माण सुरु गरिएको हो । अक्टोबर १५ पछि वाग्मतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख इन्जिनियर छतकुलीले बताए । 

    धाप ड्यामनजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन पनि  भइरहेको छ । धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा वाग्मतीमा मिसिन्छ । यो पानीबाट विद्युत् निकाल्ने उद्देश्य  छ ।  वाग्मती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ ।

  • सम्बन्धित विषय:

  • # स्थलगत भिडियो रिपोर्ट
  • # धाप तालको ड्याम

  • तेस्रो आँखा