काठमाडौं । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि रामेछाप (गर्ज्याङ)-नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण पूरा भएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्ज्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका १३, साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसनमा टुंगिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ । प्रसारण लाइनका लागि १०५ वटा टावर निर्माण गरिएको छ ।
आयोजनाअन्तर्गत गर्ज्याङमा १३२ केभीको नयाँ सबस्टेसन र नयाँ खिम्ती सबस्टेसनमा १३२ केभीको वे निर्माण गरिएको छ । गर्ज्याङ सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी ६/८ एमभीए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । गर्ज्याङ सबस्टेसनबाटै स्थानीय रुपमा विद्युत् दिइने भएकाले त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुनेछ ।
प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न भएपछि करिब दुई सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘स्थानीयको अवरोधलगायत कारणले समस्यामा परेको प्रसारण लाइनको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ, अब केही दिनमै सञ्चालन (चार्ज) मा ल्याउन परीक्षणका कामहरु भइरहेका छन्,’ घिसिङले भने, ‘अहिले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक व्यवस्था गरी जोडिएको छ, अब ती आयोजनाहरुको विद्युत् गर्ज्याङ-खिम्ती प्रसारण लाइनमा जोडिन्छ, अब प्रसारण पूर्वाधार अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको छ ।’
स्थानीयको अवरोधका कारण गर्ज्याङ-खिम्ती निर्माणमा केही ढिला हुने देखिएपछि १५ वैशाख २०७९ बाट वैकल्पिक व्यवस्थामार्फत उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् गर्ज्याङ सब-स्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिएको छ । जिरी सब-स्टेसनबाट चरिकोटस्थित मकैबारी सब-स्टेसन हुँदै सिंगटी सब-स्टेसनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ ।
गर्ज्याङ-खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै प्रसारण लाइनको तार तान्न दिएका थिएनन् ।
स्थानीयसँगको छलफल, स्थानीय तह तथा प्रशासन, प्राधिकरणको उच्च व्यवस्थापनलगायतको निरन्तर पहल, प्रयास र सहयोगमा प्रसारण लाइन निर्माणमा रहेको अवरोध हटाइएको आयोजना प्रमुख अनुप गौतमले बताए ।

आयोजना प्रारम्भिक काम आर्थिक वर्ष ०६७/६८ बाट सुरु भएको थियो भने निर्माण लागि पिङगाओ ग्रुप कम्पनी, चीनसँग माघ २०७३ मा ठेक्का सम्झौता भएको थियो । उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो आयोजनाका प्रवर्द्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवर्द्धकहरु सम्बद्ध फ्रेन्डसिप इन्जिनियरिङले सब कन्ट्रयाकमा काम लिएको थियो । तर, कोभिड-१९ को महामारी, समयमा निर्माण उपकरणहरु आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो ।
अनुमानित लागत २ करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजनाअन्तर्गत नयाँ खिम्ती सब-स्टेसनमा २२०/१३२/३३, २०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिनेछ । नयाँ खिम्ती सब-स्टेसनको क्षमता अपुग हुने भएकाले क्षमता विस्तार गर्न लागिएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी सबस्टेसनमा अहिले १०० एमभीएको पावर ट्रान्सफर्मर छ ।
