काठमाडौं । दसैं बिदाका बेला नेपाल आयल निगमले सबै डिपो खुला राख्ने भएको छ । दसैंको बिदामा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने उद्देश्यले १३ वटा डिपो खुला राख्ने निगमले एक सूचना प्रकाशित गर्दै जनाएको हो।
निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिने उद्देश्यले सार्वजनिक बिदामा पम्पहरू २४ घन्टा खुला गरिने जनाएको छ । १३ वटा डिपो भने विभिन्न बिदाको दिनमा खुला राखिने भएको छ। दैनिकरूपमा आजभोलि पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको जनाइएको छ ।
दसैंमा सार्वजनिक बिदा हुने र सार्वजनिक गाडीको चाप बढ्ने हुन्छ । यस अवस्थालाई ख्याल राख्दै पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपोहरू खुला राख्ने निर्णय गरिएको निगमका निर्देशक वीरेन्द्र गोइतले विभिन्न सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् । प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने भएको छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहने निगमका पदाधिकारीले जनाएका छन् ।
डिपोहरू लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते तथा कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते खुला हुने निर्देशक गोइतले जनाएका छन् । यसैगरी, शाखा कार्यालय चारआलीमा १६ र २१ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते डिपोहरू बिदाको दिनमा पनि खुला गरिने भएको छ । नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने भएका छन् ।
