कोरोना फैलाउन दलहरु कति जिम्मेवार ?

कोरोना फैलाउन दलहरु कति जिम्मेवार ?


  • 9.7K
    SHARES
    • पौष २८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    कोरोना फैलाउन दलहरु कति जिम्मेवार ?

    कोरोना संक्रमण बढ्यो भन्दै सरकारले सोमबार स्वास्थ्य प्रोटोकल बनायो । त्यसको २४ घण्टा बित्न नपाउदै राष्ट्रप्रमुखबाट नै त्यसको  उल्लङ्घन भयो ।  पृथ्वीजयन्तीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीसंगै पूर्व राजा ज्ञानेन्द्र शाहले सिंहदरबारको मूल गेटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा ठूलो मासकाबीच माल्यार्णपन गरे । यसलाई एउटा उदाहरण मात्रै मानौँ ।

    images

    यो दुई महिनाको अवधिमा मात्रै चार ठूला राजनीतिक दलहरुले आफ्नो महाधिवेशन सम्पन्न गरे। तर कोरोना सचेतताविहिन महाधिवेशन नै भए। पछिल्लो समयमा संक्रमणदर बढ्नु को कारण यसलाई कसरी नमान्ने ? नेकपा माओवादीले आठौं महाधिवेशन भर्खरै सम्पन्न गर्यो । महाधिवेशन सकिएको केही समयपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना पुष्टि भयो। यससँगै नेता नारायणकाजी श्रेष्ठ, माओवादी नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडललगायतलाई कोरोना पुष्टि भएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टि भएका नेताहरुसँग थुप्रैको भेटघाट तीव्र रह्यो। उनीहरुसँग सम्पर्कमा आएका मध्य कति परिक्षणका लागि सम्पर्कमा आए ? कति आएका छैनन् वा आउने क्रममा छन् ? अनि कतिलाई कोरोना भयो वा हुने हो, भन्ने यकिन छैन ।  

    कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमीक्रोन विश्वभर फैलिएको छ । तर नेपालमा भने स्वास्थ्य सर्तकता अपनाउने वा आवश्यक तयारी गरेको देखिदैन । सानालाई अयन ठूलालाई चयन भनेझै नियम बनाउने तर आफैले नै पालन नगर्ने परिपार्टी देखिएको छ ।  मानौ कि एका तिर नियम बनाउने अर्को तिर नियम उलङ्घन गर्ने एउटा संस्कार नै बसे जस्तो भएको छ ।

    विभिन्न देशहरुमा कोरोनाको नयाँ भेरिएन्टबाट बच्नका लागि सतर्कता अपनाउन थालेका छन्। छिमेकी राष्ट्र भारतमा पनि कोरोना भुसको आगो सरी फैलिदै छ । नेपालमा पनि कोरोनाको त्रास उतिकै बढेको छ। भारतमा रोजगारीका लागि गएका नेपालीहरु धमाधम नेपाल फर्कन थालेका छन् । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमण फैलिन नदिन भन्दै सरकारले सुरूमा विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । साथै अन्य स्वास्थ्यका मापदण्डहरू पालन गर्न पनि आग्रह गरेको छ । जसअनुरुप विद्यालयहरु बन्द भैसके। पहिलो र दोस्रो लहरको समयमा थला परेको पठनपाठनले विस्तारै निरन्तरता पाउदै थियो । फेरि तेस्रो लहरकाे कोरोना त्रास सुरु भयाे जसको असर प्रत्यक्ष रुपमा विद्यालयमा परेको छ ।

    भक्तपुरको आदर्श उच्च माविमा पढ्ने विद्यार्थीहरु विहानै विद्यालय पुगे । विद्यालय बन्द भन्ने खबर पाएपछि उनीहरु निराश हुँदै घर तर्फ फर्के । घरतर्फ फर्किदाँ उनीहरुमा आक्रोश देख्न सकिन्थ्यो । उनीहरु भन्दै थिए ‘नेपालमा राजनीतिक दलहरुले कोरोना फैलाउँछन् र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्छन ।’

    बिना तयारी पहिलो पटक २०७६ सालको चैत्रमा लकडाउन गरियो । नेपालमा कोरोनाको सम्भावित भयावहलाई रोक्नका लागि गरिएको उक्त लकडाउनका कारण पठनपाठनमा समस्या सुरु भयाे । २०७७ को साउनसम्म गरिएको लकडाउनकाे प्रभाव विद्यार्थीलाई नै पर्‍यो । साउनपछि विस्तारै लकडाउन खुकुलो पारेपछि बल्ल कोरोनाको ग्राफ उकालो लागेको छ।

    तर, पनि ७७ को मंसिर सम्ममा कोरोनाको ग्राफमा केही कमी आएको देख्न सकिन्छ । पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे। उनले प्रतिगमन गरेको भन्दै उनको उनकै पार्टीभित्रको अर्को तप्का सडकमा गयो । स्वयम उनको पार्टीले जवाफी सभाहरु गर्न थाल्यो। त्यतिबेला काेराेना पूर्ण रूपले सकिएकाे थिएन । तर पनि राजनीतिज्ञ तथा नागिरक समाजकाे विराेध सभा भने राेकिएनन् । फलतः दोस्रो चरणकाे काेराेनाका कारण नेपालमा धेरैले ज्यान त गुमाउनु पर्‍यो नै। पुनः लकडाउन भयाे । त्यतिबेला गरिएकाे लकडाउन कारण विद्यालय क्षेत्र झनै प्रभावित भयो। स्मार्ट शिक्षणको सुरुवाति पनि नभएको होइन् । तर, अधिकांश ग्रामिण इलाकाका विद्यार्थीहरु पढाइबाट बञ्चित भए ।

    २०७८ सालको वैशाखबाट नेपालमा कोरोनाको दोस्रो लहरका कारण लकडाउन फेरि सुरु भयो। देशको अर्थतन्त्रमा पुनः एक पटक ठूलो झड्का लाग्यो । विद्यार्थीहरु अनलाईन शिक्षा भने पनि प्रभावित भएको महसुस गरिरहे । विस्तारै असारबाट ओरालो लागेको कोरोना संक्रमित दर फेरि बढ्न थालेको छ। नेपालमा ओमीक्रोनको सम्भावित भयावहलाई रोक्नका लागि सरकारले विद्यालय बन्द गर्ने, २५ जना भन्दा बढी एक ठाउँमा भेला हुन नपाउँने, सार्वजनिक स्थानमा जाँदा मास्क, खोप कार्ड अनिवार्य गर्ने लगाएतका स्वास्थ्य मापदण्ड लागू गरेकाे छ ।

    यसअघिका काेराेनाकाे समयमा सरकारले यसै गरि मापदण्डहरू बनाएकाे थियाे । अघिला लकडाउनमा जस्तै यसाली पनि फेरि पुरानै गतिविधि दाेहाेरिने हाे भन्ने चिन्ता जनमानसमा पैदा भएकाे छ । त्यतिबेला धेरै बेराेजगार भए र धेरै भाेक भाेकै बस्न बाध्य भए । मंसिर महिनाभरी हुनुपर्ने तयारीमा सरकारले खासै ध्यान दिएको पाइदैन । कोरोना संकम्रण पूर्ण रुपले निर्मुल भइसकेको भने थिएन । तर ठूला मासमा जनता भेला गरेर राजनीतिक दलहरुले सभा सम्मेलनलाई भने निरन्तरता दिइ नै रहे । राजनीति दलहरुलाई यसमा कुनै पनि हिनताबोध पटक्कै छैन अझ छाती चौडा पारेर यस्तो गरे उस्तो गरे भन्दै फुइ लगाउन पछि पर्दैनन् । मंसिरमा नेकपा एमालेले चितवनमा लाखौं मान्छे उतारेको भन्दै छाती चौडा बनाइरहँदा कोरोनाको तेस्रो लहर ल्याउन सक्ने ओमिक्रोन विश्वमा देखापरिसकेको थियो। भारतमा पनि मंसिर १६ गते २ जनामा ओमिक्रोन पुष्टि भएको थियो ।

    त्यसपछि नेपाली कांग्रेसले पनि काठमाडौंमा धुमधामका साथ आफ्नो महाधिवेशन गर्‍यो । कांग्रेसले महाधिवेशन सकेको केही समयपछि माओवादीले महाधिवेशन सम्पन्न गर्‍यो । त्यस्तै, यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौंमा नै आफ्नो महाधिवेशन सफल पार्‍यो। पार्टीहरुले आफ्ना पार्टीका महाधिवेशन सफल पारे पनि कोरोना विरुद्धको अभियान भने पुनः असफल पारेका छन् । माओवादी केन्द्रको  महाधिवेशनमा भाग लिएकाहरुलाई कोरोना संक्रमण पुष्टि भयो, संक्रमणमा माओवादी अध्यक्ष प्रचण्ड लगाएतका केन्द्रीय नेताहरु नै परिसके । यसरी, राजनीतिक दलहरुले नै नेपालमा कोरोना संक्रमणको जोखिमका हकदार नेपालका राजनीतिक दलहरु हैनन् पनि कसरी भन्ने ?

    विद्यार्थीको पढाइ रोकेर कोरोना महामारी नियन्त्रण गर्न खोज्ने तत्कालीन केपी ओली नेतृत्वको सरकार र अहिलेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राजनीतिक दलहरुले कोरोना महामारी फैलाउन गरेको सहयोगलाई रोक्न सकेनन्, बरु कोरोना जोखिमको प्रवाह नगरेरै आआफ्ना पार्टीका महाधिवेशन गरेर हज्जारौँको भीड जम्मा गरे  । 

    सीमा नाकाबाट कोरोना संक्रमित नेपाल आइरहँदा उचित प्रवन्ध गर्नुपर्ने कुनै सरकारले पनि भूमिका खेलेनन्। यि सबै गतिविधिहरु आफैले देखेका विद्यार्थीहरु अहिले भन्दैछन् ‘नेपालमा कोरोना संक्रमण फैलाउन राजनीतिक दलहरुको ठूलो भूमिका छ ।’ नियम बनाउने पनि राजनीतिक दल तोड्ने पनि उनै । जब सम्म ठूला भनौदाले नियमको पालना गर्दैनन् तब सम्म नेपालमा माखो सम्म मर्ने देखिदैन । कोरोना नियन्त्रण हुनु त टाढाको कुरा ।

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा