• ट्रेण्डिङ्ग :
विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड


  • 3.6K
    SHARES
    • फाल्गुण १६, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.6K Views

    विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

    काठमाडौं, १६ फागुन । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ ।

    images

    प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपियाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपियाँ खर्च भएको छ ।

    प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।

    प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपियाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८०को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपियाँ थियो ।

    गत आवको पहिलो ६ महिनाको तुलनामा  प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा चार अर्ब ४४ करोड ४६ लाख रुपियाँले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड रुपियाँ थियो । आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा  चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो ।

    ‘‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौं, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरुमा हरेक वर्ष अर्बौं रुपियाँ लगानी गरिरहेका छौं’’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘विद्युतमा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०/१२ खर्ब रुपियाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’’

    प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपियाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपियाँको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरुबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट एक अर्ब ९८ करोड ६२ लाख रुपियाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ नौ अर्ब तीन करोड ८४ लाख रुपियाँ खर्च भएको छ ।


    तेस्रो आँखा