काठमाडौं । अर्थमन्त्री वर्षामान पुन अमेरिका प्रस्थान गर्नुभएको छ । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आइतबार राति सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डीसीका लागि उड्नुभएको छ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको हो । मन्त्री पुनलाई बिदा गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णलागयतविमानस्थल पुग्नुभएको थियो ।
भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका उपसचिव भूपालराज शाक्य रहनुभएको छ ।
तीनदिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ र विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुहुनेछ। यस्तै अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो-लीसँग पनि भेट हुनेछ।
