काठमाडौं, २ फागुन। भीडैभीडले भरिएको काठमाडौँ शहर। एकछिन् बसेर कतै आनन्द लिने र फ्रेस हुने ठाउँ छैन। भएका केही पार्क पनि अव्यवस्थित छन्। त्यस्ता पार्कमा पनि शुल्क तिर्नुपर्ने बाध्यता छ। यस्तै छ संघीय राजधानी काठमाडौं, यस्तै छ काठमाडौं महानगर।
प्रेमीकालाई पार्कमा लगेर फूल दिउँ भनेको कहाँ, कुन पार्क लगेर दिने टुंगो लागेको छैन। उनीसँग घण्टौं फोनमा कुरा गर्दा पनि कुन पार्क जाने अझै निश्चित भएको छैन। यो पिडा चैं मेरो मात्र त पक्कै होइन होला, धेरै प्रेमी प्रेमिकालाई यो पीडाले पक्कै सताइरहेकै छ होला।
प्रेमिकालाई फूल दिने पार्कसम्म भएन भनेर कहाँ भन्न जानु ? कहाँ माग्न जानु ? कहाँ उजुरी गर्न जानु ? तर मनमनै पार्कको व्यवस्था गर्न सरकार बिरुद्ध आन्दोलन नै गरौं भन्ने लागिरहेको छ। भित्रभित्र सरकारले यति ठूलो शहरमा एउटा प्रेमिकालाई फूल दिने र प्रेम प्रस्ताव राख्ने पार्कसमेत दिन नसकेको देख्दा आफैंलाई राजनीतिमा लागौं की के हो भनेर जोस पनि चल्छ।
‘भ्यालेन्टाइन डे’ (प्रेम दिवस) सप्ताह सूरु भएको एक हप्ता भयो। दुई हप्तादेखि उनलाई भेटेर फूल, चकलेटलगायत सबै उपहार ‘भ्यालेन्टाइन डे’ मै दिएर प्रेम प्रस्ताव राखौं भनेर सोचिरहेको छु। कहाँ जाने भनेर उनी सँग बातचित गरिरहेको छु। तर अझै सोचिरहेकै छु टुंगोमा पुगेको छैन।
‘यो शहरमा गर्लफ्रेन्ड पाउन भन्दा गाह्रो त गर्लफ्रेन्डलाई घुमाउने पार्क पाउन गाह्रो छ’ उनलाई मैले जिस्काउँदै भने। उनले अलीक रिसाउँदै भनिन् ‘त्यही भएर त होला नी धेरै पछि लाएका।’ हामीले पार्क जाने सन्दर्भमा पार्कहरु पनि सझियौं रत्नपार्कमा रहेको पार्क(शंखर उद्यान), बाइसधारा पार्क र यस्तै केही शहरमा रहेका पार्कहरु जहाँ जाने त कुरा छोडौं त्यहाँ जाने भनेर सोच्न सक्ने पनि अवस्था छैन। अझ अनौठो कुरा के छ भने यी पार्कहरुमा पनि महानगरले पैसा उठाउने गर्छ।
घण्टौ समय लगाएर टाढा जान धेरै समय छैन। यो शहरमा बाँच्नको लागि काम गर्नै पर्ने रहेछ। छोटो समयमा कतै जाउँ र उनलाई भ्यालेटाइनको उपहार दिउँ भन्न पनि गाह्रो छ। अझ भन्ने हो भने त सँगै बसेर मिठामिठा गफ गर्ने चाहना त कति छ कति त्यो पनि एउटा पार्कको अभावले पुरा हुन सकेको छैन।
‘के हो कता छस् ? अनी आज प्रेम दिवसमा प्रेमिकालाई लिएर कहाँ जाँदै छस् त ?’ एका बिहानै मैले मेरो साथी रुपेशलाई भिडियो कल गर्दै सोधे। उसले भन्यो ‘खै कहाँ जाने त्यस्तो जाने खालको ठाउँ छ कतै छ र ?’ उसको यो कुरा सुन्ने बितिक्कै मलाई कुन पार्क जाउँ भन्ने छट्पटी जसरी चलिरहेको थियो यसलाई पनि त्यो छट्पटीले सताई रहेको रहेछ भन्ने थाहा भयो।
वास्तवमा हाम्रो यती ठूलो शहरमा एउटा राम्रो पार्क पनि छैन। यही विषयमा हामीले घण्टौ सम्म कुराकानी गर्याै। हामीले हाम्रो कुराकानी कै बीचमा विभिन्न बाहिरका देशहरु र त्यहाँका पार्कहरुको कुराकानी गर्याै। हामीले हाम्रा साथिहरुले विदेशका निकै राम्रो पार्कमा बसेर खिचेको फोटो सम्झियौं। तीनै साथीहरुले पार्क मै बसेर फ्रि वाइफाई चलाउँदै हामीलाई भिडियो कल गरेको पनि कुराहरु पनि याद गर्र्यौं। कास हाम्रो मा पनि त्यस्तो पार्क भैदिएको भए यो पनि कल्पना गर्यौं।
सामान्यतया हरेक शहरमा पार्कलाई व्यवस्थित बनाउनुको कारण पार्कमा गएर मानिसहरुले भेटघाट, कुराकानी, केही सेलिब्रेसन गर्न पाउन् र त्यसको लागि होटल क्याफे गैरहनु नपरोस् भनेर हो। तर नेपालमा भने जे गर्न पनि होटल, क्याफे जानुपर्ने बाध्यता छ। अझ अचम्म लाग्दो कुरा के छ भने नेपालमा जति पनि पार्कहरु छन् ती पार्कहरुमा पनि शुल्क तिरेर जानुपर्ने बाध्यता छ। वास्तवमा पार्कहरु भने निशुल्क रुपमा छिरेर समय बिताएर आनन्द लिन सकियोस भनेर बनाइनु पर्ने हो। न्युन गुणस्तरीय पार्क र त्यहाँ माथी पनि शुल्क तोक्नु वास्तवनै त्यो उपयुक्त हुने कुरै भएन।
काठमाडौं महानगरले पार्क कै लागि भनेर वार्षिक रुपमा लगभग ३० देखि ३५ करोड रुपैयाँ छट्याउने गरेको सार्वजनि निमार्ण विभागका प्रमुख राम थापा बताउँछन्। उनका अनुसार काठमाडौंमा लगभग ७० वटा को हाराहारीमा पार्कहरु रहेका छन्। जसमा रत्न पार्क (शंखधर उद्यान), बाइसधारा पार्क र केही एक दुई वटा मात्र धेरै जना जान मिल्ने पार्कहरु रहेका छन्।
काठमाडौंमा रहेका लगभग ७० वटा भन्दा बढी पार्कहरुमध्यमा दुई तीन वटा पार्कमा मात्र शुल्क लिने गरेको र अरुमा निशुल्क गरिएको पनि राम थापाले बताएका छन्। स्थानीय सरकार आएपछि काठमाडौं महानगरको पार्कका उल्लेख्य वृद्धि भएको र व्यवस्थित भएको पनि उनले दाबी गरेका छन्।
काठमाडौं जस्तो ठूलो शहरमा पार्कलाई सरकारले जनताको आवश्यकताको विषय मानेर यसको विकास गर्नु जरुरी छ। यद्यपि यस्तो नभएको खण्डमा प्रेम दिवसमा मात्र नभएर हरेक स–साना भेटघाट र इभेन्टको लागि होटल तथा क्याफेमा छिर्न पर्ने बाध्यता आउने निश्चित छ। आर्थिक रुपमा कमजोर वर्गलाई यसको असर प्रत्यक्ष रुपमा पर्ने निश्चित छ।
पदम भुजेल
