रोल्पा १९ साउन/ अम्मीसरा स्मृति हेल्प फाउन्डेसन, रोल्पाले शरीरको कम्मरदेखि तल पूर्ण रुपमा नचल्ने रोगबाट पीडित आनन्सी विकलाई नगद ४७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
शरीरको कम्मरदेखि तल पूर्ण रुपमा नचल्ने रोगबाट पीडित आनन्सीको उपचार खर्च स्वरुप फाउन्डेसनका उपाध्यक्ष साजन थापाले शनिवार एक कार्यक्रमका बिच सुलिचौरमा उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। सुनिलस्मृति गाउँपालिका- ४, कुमलधारा, रोल्पा निवासी हाल मलेसिया रहेका मनिष विष्ट क्षेत्रीको पहलमा देश, विदेशमा रहनु भएका विभिन्न सहयोगी व्यक्तिहरुसँग सहयोग रकम संकलन भएको थियो ।
सहयोगीहरुमा क्रमशः सुनिलस्मृति गाउँपालिका- ३ मिझिङ, रोल्पा निवासी हाल अमेरिका रहनु भएका भुपनारायण घर्तीमगर, रोल्पा नगरपालिका खुमेल निवासी हाल अमेरिका रहनु भएका डा। होमबहादुर थापा, मनिष विष्ट क्षेत्री, प्युठान घर भई हाल कतारमा बस्नुहुने मेखराज भण्डारी, लुङ्ग्री गाउँपालिका स्थायी घर भई हाल साउदी रहनु भएका तिलक विष्ट लगायत रहेका छन् ।
थबाङ स्थायी घर भएकी आनन्सी परिवारसँग सुलिचौरमा बस्दै आएकी छिन् । विगत केही वर्ष अगाडि कोभिड विरुद्धको सुई लगाएको भोलिपल्ट देखि उनको शरीरको कम्मरदेखि तलको सम्पूर्ण भाग नचल्ने भएको थियो । त्यसपछि निरन्तर औषधि उपचार गराइरहेकी विकको थोरै सुधार भए तापनि धेरै सुधार हुन भने बाँकी छ । परिवारका अनुसार उनको उपचारमा हालसम्म करोडौ रकम खर्च भैसकेको बताएका छन् । परवारको आर्थिक अवस्था कमजोर भएकोले पछिल्लो समय उनको उपचारमा समस्या हुने गरेको परिवारले बताएका छन् । कार्यक्रमको सहजीकरण फाउन्डेसनसा सदस्य दिपक विष्टले गर्नुभएको थियो ।
