‘देवी’ निर्देशकको स्पष्टीकरणः ‘निर्मला पन्तको घटनामा फिल्म बनाएको होइन’

‘देवी’ निर्देशकको स्पष्टीकरणः ‘निर्मला पन्तको घटनामा फिल्म बनाएको होइन’


  • 3.6K
    SHARES
    • भाद्र १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.5K Views

    ‘देवी’ निर्देशकको स्पष्टीकरणः ‘निर्मला पन्तको घटनामा फिल्म बनाएको होइन’

    काठमाडौं, १९ भदौ । यही शुक्रबार (तीजको विदा)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को ट्रेलरमा निर्मला पन्त हत्या प्रकरणको बारेमा पत्रिकामा लेखिएको एउटा ‘कटआउट’ प्रयोग छ । जसले गर्दा धेरैले निर्मला पन्तको घटनामा आधारित भएर फिल्म बनेको हुनसक्ने अनुमान गरेका छन् । तर, यसका निर्देशक सञ्जोग राईले कोही पनि बलात्कार पीडितलाई प्रयोग गरेर फिल्म नबनाएको दाबी गरेका छन् ।

    images

    उनले भनेका छन्, ‘हामीले कोही बलात्कार पीडितलाई प्रयोग गरेर फिल्म बनाएका होइनौं । ट्रेलर रिलिजपछि धेरैले निर्मल पन्तको घटनामा फिल्म बनेको भनिरहेका छन् । तर, निर्मला मात्र हैन, अरु पनि धेरै बलात्कार घटनाको बारेमा बनेको फिल्म हो । एउटा ‘कटआउट’ले गर्दा निर्मला पन्तको घटनामा बनेको भन्ने लागेको हुनसक्छ । तर, त्यो होइन । न फिल्ममा निर्मला भनेर नाम नै छ ।’

     
    सञ्जोगलाई बलात्कारको घटनामा फिल्म बनाउनुपर्छ भनेर आफ्नो घर नजिकै भएको एक घटनाले लागेको रहेछ । ‘मेरै घर नजिकै गोदाबारी मा एक बच्चीलाई केही व्यक्तिले ‘किडन्याप’ गरेर एक हप्तासम्म बलात्कार गरेका थिए । तर पनि त्यो बच्चीले न्याय पाउन सकिनन् । त्यो घटनाले मलाई ‘ट्रिगर’ गरेको थियो । त्यसपछि चाहिँ यो विषयमा फिल्म बनाउनुपर्छ भन्ने लाग्यो,’ उनी सम्झन्छन् ।

    निर्देशक राईलाई आफूले बलात्कारको घटनामा निष्पक्ष भएर फिल्म बनाएको छु भन्ने लाग्छ । उनले फिल्मका लागि बलात्कारको घटनाको बारेमा धेरै अनुसन्धान पनि गरेका रहेछन् । उनी सम्झन्छन्, ‘२०१९ तिर बलात्कार, हत्या र हिंसाको २७ हजार मुद्धा दर्ता थिए । मैले कति मुद्धा अदालतमा पनि हेर्न गएँ । कति मुद्धा त अदालतबाहिर २ हजारदेखि ५ हजारसम्ममा सल्टाएर पठाएको पनि देखेँ ।’

    फिल्मको माध्यमबाट केही बोल्न सकियो र त्यसले एउटा बहस सुरु गर्यो भने पनि राम्रो हुन्छ भन्ने सोचले ‘देवी’ बनाएको निर्देशक राईको भनाई छ । तर, फिल्मको नाम शास्त्रसँग नभए नेपाली समाजसँग जोडेर राखेको उनी बताउँछन् । समाजमा महिलालाई देवी भनेर पुजिने र त्यही समाजमा महिलाको बलात्कार र हत्या हुने गरेकाले फिल्मको नाम ‘देवी’ राखेको उनले स्पष्ट पारेका छन् ।


    तेस्रो आँखा