संस्थागत सुत्केरीमा सबैको पहुँच पुग्न सकेन

संस्थागत सुत्केरीमा सबैको पहुँच पुग्न सकेन


घरमा सुत्केरी हुनेको संख्या घट्दै, संस्थागत बढ्दै

  • 8.6K
    SHARES
    • आश्विन १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 13.3K Views

    संस्थागत सुत्केरीमा सबैको पहुँच पुग्न सकेन

    रोल्पा, १७ असोज । सुरक्षित मातृत्वकालागि सरकारले पूर्ण संस्थागत सुत्केरीमा जोड दिए पनि शुन्य हुन भने सकेको छैन्। रोल्पाको हकमा वर्षेनी जिल्लामा केहि महिलाहरु घरमै सुत्केरी हुने अवस्था हट्न सकेको छैन् । भौगोलिक विकटता र सामाजिक रुपमा चेतनाको अभावमा गर्भवती महिलाहरु असुरक्षित रुपमा स्वास्थ्य संस्था बाहिरबच्चा जन्माउन बाध्य रहेका छन्।

    images

    रोल्पामा गत आर्थिक वर्ष २०८०/०८१ मा ८६ जना महिला स्वास्थ्य संस्था बाहिर, अर्थात् घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्क छ। जिल्लाभर ३ हजार १ सय ४७ जना संस्थागत रुपमै सुत्केरी भएका छन् । १० स्थानीय तहहरु (१ नगरपालिका र ९ गाउँपालिका) रहेको रोल्पाका केहि वडाहरु पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिको भएता पनि कुनै पनि पालिका पूर्ण संस्थागत सुत्केरी घोषणा हुन सकेको छैन् ।

    भौगोलिक विकटता र चेतनाको अभावः  

    जिल्लाभर रहेको ७२ वटा वडा कार्यालय मध्ये २० वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीले जानकारी दिए। ‘भौगोलिक विकटता, चेतनाको अभाव र गरिबीको कारण संस्थागत सुत्केरीमा पहुँच पुगेको छैन्’ कार्यालय प्रमुख सुवेदीले भने। ग्रामिण भेगमा यातायातको सहज पहुँच रहेको छैन, यी कारण नै संस्थागत सुत्केरी हुनमा प्रमुख चुनौतीको रुपमा रहेको उनले बताए।

    संस्थागत सुत्केरिको पहुँचमा वृद्धि गर्नकालागि ‘एक वडा–एक वर्थिङ सेन्टर’ सहित दक्ष स्वास्थ्यकर्मी हुन आवश्यक छ, उनले थपे । यसका साथै स्वास्थ्य आमा समूह र स्वयमसेविकाहरुलाई थप सक्रिय बनाउनमा पालिकाहरुले प्रोत्साहन कार्यक्रम ल्याउन आवश्यक रहेको छ। गर्भवती महिलाहरुको नियमित जाँच गर्नकालागि स्वास्थ्य स्वयमसेविकाहरुको पनि महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय सरकारहरूले गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गर्दा पनि संस्थागत सुत्केरीमा उनिहरूको पहुँच नपुगेको कार्यालय प्रमुख सुवेदीले थपे।

    ७२ वडा मध्ये २० वडा पूर्ण संस्थागत सुत्केरी घोषणाः

    ८ वटा वडा कार्यालय रहेको सुनिलस्मृति गाउँपालिकामा ३ वटा वडा मात्र पूर्ण संस्थागत सुत्केरी घोषणा भएको छ । आव २०७९/०८० मा २० जना महिलाले स्वास्थ्य संस्था बाहिर बच्चा जन्माएको तथ्याङ्क रहेको यस पालिकामा आव २०८०/०८१ मा भने शुन्य होमडेलीभरी भएको पालिकाको रुपमा रहेको छ ।

    आव २०७९/०८० मा पनि शुन्य होम डेलिभरी पालिकाको रुपमा रहेको लुंग्री गाउँपालिका आव २०८०/०८१ मा पनि शुन्य होम डेलिभरी भएको पालिकाको रुपमा स्थापित भएको छ । ७ वटा वडा रहेको लुङ्ग्री गाउँपालिकामा ५ वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएका छन् । अब २ वडा मात्र संस्थागत सुत्केरी घोषणा गर्न बाँकी रहेको लुङ्ग्री गाउँपालिकाले जनाएको छ।

    Table 1.jpg

    लुङ्ग्री गाउँपालिका स्वास्थ्य सह–संयोजक दीपा कुमारी विष्ट लगातार पालिका शुन्य होम डेलिभरी हुनुमा संस्थागत सुत्केरी गराउन नेपाल सरकारले लिएको कार्यक्रममा पालिकाले पनि केहि कार्यक्रमहरु थप गर्दा सम्भव भएको बताइन् । 'दिगो विकासका लक्षहरुलाई पहिल्याउदै पालिकाले आमा समूह, स्वयमसेवीका, स्वास्थ्यकर्मीहरुसँग छलफल तथा विभिन्न अभिमूखिकरण, विभिन्न तालिम प्रदान, करारमा स्वास्थ्यकर्मीको अभाव पुर्ती गरिनुले सम्भव भएको हो' उनले भनिन्।

    पालिकाले भौगोलिक विकटता भएको कारण संस्थागत सुत्केरी गराउन आउँदा खर्च बढी लाग्ने भएकोले संस्थागत सुत्केरी हुनेकालागि प्रोत्साहन भत्ता उपलब्ध गराउँदा पनि स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने भावनको विकास भएको छ, उनले थपिन्।

    पालिकाले स्वास्थ्य स्वयमसेवीकाहरुको भूमिकालाई पनि मध्यनजर गर्दै प्रोत्साहन भत्ताको व्यवस्था गरिरहेको उनले बताइन्। यसले गर्दा स्वयमसेविकाहरुले समाजमा संस्थागत सुत्केरी हुनुपर्छ भन्ने विषयमा जनचेतना फैलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।

    ‘साथै वडा कार्यालयले पनि संस्थागत सुत्केरी हुने महिलाकोलागि विभिन्न पोसिलो खानेकुरा वितरण गर्ने कार्यक्रमहरुले गर्दा पनि थप सहयोग पुगेको हो,‘ उनले भनिन्। पछिल्लो समय मोवाइल स्वास्थ्य कार्यक्रमको प्रभावले पनि गर्भवती महिलाहरुको निरीक्षण गर्नमा सहज पुगेको उनले बताइन्।

    त्रिवेणी गाउँपालिकाले हालसम्म ४ वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको छ। ७ वटा वडा कार्यालय रहेको उक्त पालिकामा ३ पालिका मात्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न बाँकी रहेको तथ्याङ्क रहेको छ। आव २०७९/०८० मा शुन्य होम डेलिभरी रहेको यस पालिकामा आव २०८०/०८१ मा भने १ जनाले स्वास्थ्य संस्था बाहिर बच्चा जन्माएको तथ्याङ्क छ।

    त्यस्तै १० वटा वडाहरु रहेको रोल्पा नगरपालिकामा पनि ४ वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । रुन्टीगढी गाउँपालिकाका ३ वडा घोषणा हुँदा परिवर्तन गाउँपालिकाको १ वटा वडालाई घोषणा गरिएको छ ।

    जिल्लाको सुकिदह गाउँपालिका, सुनछहरी गाउँपालिका, थवाङ गाउँपालिका र माडी गाउँपालिकाको कुनै पनि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छैन । आव २०८०/०८१ मा ८६ जना महिला संस्था भन्दा बाहिर सुत्केरी भएकोमा सुकिदह गाउँपालिकामा सबैभन्दा बढी २१ जना, सुनछहरी गाउँपालिकामा १८ जना, थवाङ गाउँपालिकामा १४ जना र माडी गाउँपालिकामा १ जना रहेको छ।


    पाँच वर्षमा संस्थागतरुपमा र घरमा सुत्केरी हुनेको संख्याः

    स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आव २०८०/०८१ मा जिल्लाभरबाट ३ हजार १ सय ४७ जना संस्थागत रुपमै सुत्केरी भए भने ८६ जना जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएका छन् । आव २०७९/०८० मा ३ हजार ६ सय ३ जना महिला संस्थागत रुपमै सुत्केरी भए भने १ सय २३ जना स्वास्थ्य संस्था बाहिर अर्थात घरमा सुत्केरी भए। आव २०७८/०७९ मा ३ हजार ३ सय ४ जना संस्थागत रुपमा २ सय ४५ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भए। 

    Table 2.jpg

    त्यस्तै आव २०७७/०७८ मा ३ हजार ६ सय ८४ जना संस्थागत रुपमै सुत्केरी भए भने ५ सय ८ जना स्वास्थ्य संस्था बाहिर अर्थात घरमा सुत्केरी भए । आव २०७६/०७७ मा ३ हजार ४ सय २२ जना स्वास्थ्य संस्थामै सुत्केरी भए भने ७ सय ५५ जना स्वास्थ्य संस्था बाहिर सुत्केरी भएको तथ्याङ्क रहेको छ। 

    स्वास्थ्य कार्यालय रोल्पाले संस्थागत रुपमा सुत्केरी गराउने तथा गुणस्तरीय सेवाको पहुँच पुर्याउने उदेश्यले विभिन्न विभिन्न तालिमहरु सञ्चालन गरिरहेको जनाएको छ। सुरक्षित मातृत्व कार्यक्रममा सबैको पहुँच पुर्याउन र हुनसक्ने जोखिम न्यूनीकरणकालागि स्थानीय तहहरुको बीचमा आवश्यक छलफल र पैरवी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    सुरक्षित मातृत्वकोलागि संस्थागत रुपमै सुत्केरी हुन आवश्यक छ। परम्परागत सोचका कारण अहिले पनि कतिपय महिलाहरु असुरक्षित रुपमा घरमा सन्तान जन्माउन बाध्य छन् । यसलाई न्यूनीकरणकालागि स्थानीय सरकारले सुत्केरी सेवालाई स्वास्थ्य संस्थासँग जोड्नकालागि उपयुक्त कार्यक्रमहरु ल्याउन आवश्यक छ । स्वास्थ्य आमा समूह, स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम, परामर्श साथै प्रोत्साहनका कार्यक्रमहरु स्थानीय सरकारले ल्याउनका आवश्यक छ । यस सवालमा उनीहरुको भूमिका पनि महत्वपूर्ण रहने गर्दछ। 


    भरत विश्वकर्मा
    लेखकबाट थप