रोल्पा । परिवर्तन गाउँपालिका अन्तर्गतको व्यापारीहरुका लागि व्यवसायी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
परिवर्तन गाउँपालिकाको आर्थिक सहयोग र उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकाको आयोजनामा एक दिने व्यवसायी जनचेतना मुलक कार्यक्रम बुधबार परिवर्तन गाउँपालिका९३ बागमारामा सम्पन्न भएको हो ।
परिवर्तन गाउँपालिका९३ का वडाध्यक्ष खिम विक्रम चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको प्रशिक्षकमा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर,परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगर , उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेम कुमार बुढा मगर र परिवर्तन गाउँपालिका उद्यम विकास सहजकर्ता झक्कु डाँगी लगायत रहनु भएको थियोे ।
परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले स्थानीय तहलाई संविधानले दिएको एकल अधिकारको बारेमा जानकारी गराउदै,स्थानीय तहलाई दिएको २२ ओटा अधिकार मध्ये स्थानीय बजार व्यवस्थापन अधिकार दिएको बताउनुभयो । २०७४ मा परिवर्तन गाउँपालिकाले बजार अनुगमन सम्बन्धि कार्यविधि बनाएर कार्यान्वयनमा लिएको बताउदै उहाँले कार्यविधि बमोजिम बजार अनुगमन समिति बनाएर काम गर्दै आएको समेत बताउनुभयो । स्थानीय तहले अहिलेसम्म व्यवसाय कर र मालपोत कर मात्र संकलन गर्दै आएको बताउनुभयो ।
परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगरले स्वास्थ्य सम्बन्ध विषयमा जानकारी गराउदै मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको व्यवस्था गरेकोले सबैले स्वास्थ्य सेवा पाउनु सबैको अधिकार भएको बताउनुभयो। कुनै पनि व्यक्ति वा संघ संस्थाले क्लिनिक,फार्मेसी सञ्चालन गर्दा मावदण्ड बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेर मात्र सञ्चालन गर्नुपर्ने बताउनुभयो।
परिवर्तन गाउँपालिका उद्यम शाखाका सहजकर्ता झक्कु डाँगीले पसल सञ्चालन,नवीकरण तथा कार्यविधिको बारेमा जानकारी गराउदै,पसल दर्ता गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी दिनु भएको थियोे। डाँगीले परिवर्तन गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि कार्यविधि २०७५ मा गरिएको व्यवस्था, व्यवसाय दर्ताका लागि आवश्यक कागजात, दर्ता खारेज र व्यवसाय बन्द सम्बन्धि व्यवस्था , कारबाही र जरिवाना सम्बन्धि व्यवस्था लगायतको बारेमा जानकारी गराउनु भएको थियोे ।
परिवर्तन गाउँपालिका उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेम कुमार बुढा मगरले असल व्यवसायीमा हुनुपर्ने विशेषताहरुको बारेमा जानकारी गराउदै,सामान खरिद गर्दा,भित्र राख्न,बहिर पठाउदा र भण्डारण गर्न मिलेको छ कि छैन यी कुराहरू ध्यान दिनुपर्ने बताउनुभयो। सामान्य अनिवार्य भ्याट वा प्यानमा खरिद भएको छ वा छैन,प्यान वा भ्याटमा बिक्री भएको छ वा छैन,खरिद सामानहरु भण्डारण सहि तवरले छ वा छैन,क्रेता र विक्रेता बिचमा विविधता छ वा छैन लगायतको बारेमा जानकारी गराउनुभयो। नियमित अनुगमनमा व्यवसायीले ध्यान दिनुपर्ने सुचकहरुको बारेमा जानकारी गराउदै बुढा मगरले, दैनिक उपभोग्य सामानहरुको म्याद भएको नभएको,नाप तौलका उपकरणहरु ठिक छ वा छैन ध्यान दिन आग्रह गर्नुभयो।
परिवर्तन गाउँपालिकाले उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिकासंगको साझेदारीमा गाउँपालिकाको सम्पुर्ण वडाहरुमा यो कार्यक्रम संचालन गर्दै आएको छ ।
