तनहुँ २० मंसिर । तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दस दिन बन्द गरिने भएको छ । बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दस दिन बन्द गरिएको हो
बुधबारदेखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिनुभयो । उक्त मोटरमार्गको घाँसीकुवादेखि बरभञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ । उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ ।
बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको हो । संघीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताउनु भयो ।
व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनु भयो । पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ ।
जसअनुसार ५.५ देखि ७.५ मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ । हालसम्म ८५० मिटर सडक कालोपत्र भइसकेको छ। रासस
