काठमाडौं, २१ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय भएको बताउनु भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले लामिछानेमाथि अन्याय भएको बताउनु भएको हो ।
उहाँले रविप्रति सद्भाव जनाउन आफू पोखरा पुगेको बताउनुभयो । ‘यो प्रतिशोधपूर्ण हो भन्ने कोणबाट मैले बुझेको छ । कानुनलाई कसैले चुनौती दिन सक्दैन । तर उनीमाथि प्रतिशोध साँधिएको छ,’ उहाँले भन्नुभयो, ‘सहकारीको अनुसन्धानलाई विषयान्तर गर्न खोजिँदै छ । अहिले ठूला ३४ टाउकाले जनतालाई पनि ठग्ने र आफ्ना प्रतिस्पर्धीलाई पनि तर्साउने काम गरिरहेका छन् ।’
लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।
