बाँके ८ पुस । जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक सदाबुद्दिन हलवाई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
भारतको बलरामपुरस्थित सिंहपुरीका ४२ वर्षीय हलवाईले जमिनमुनि धेरै सुन देखिएकोले सो निकालिदिने भन्दै पटक–पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड रकम ठगी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मोहनपुर इँटाभट्टा नजिकैको जमिनबाट सुन निकालिदिन्छु भनेर स्थानीय नसिर अहमद बेहनाबाट पटक–पटक गरी दुई करोड रुपियाँ हलवाईले ठगी गरेको उजुरीको आधारमा भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
भारतीय नागरिक हलवाईलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार हलवाईलाई चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ परेका हलवाईबाट एक हजार ४९ वटा पहेँलो सिक्का, तिन वटा माटोको घैँटो, तीन वटा पितलको घैँटो, धातुले बनेको एउटा चेन, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकार प्रकारका ६०० भन्दा बढी पत्थर, तीन वटा धातुले बनेको डिब्बा, ताविजसहितको एक डिब्बा, उर्दू अक्षरमा लेखिएको किताब एउटा, भारतीय नम्बरको युपी ३२ पीपी ६११० नम्बरको कार र नेपाल तथा भारतीय बैङ्कका चेक तथा भौचरहरू बरामद भएको प्रहरीले जनाएको छ ।
