• ट्रेण्डिङ्ग :
`मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’

`मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’


  • 2.1K
    SHARES
    • पौष २१, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.3K Views

    `मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’

    गण्डकी, पुस २१ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । 

    images

    कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारकाविरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को आज पोखरामा उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवताविरुद्धको विश्वव्यापी समस्या र नयाँ चुनौतीका रूपमा देखापरेको बताउनुभयो ।

    मानव बेचबिखन तथा ओसारपसारको समस्यामा बालिका र महिला बढी जोखिममा रहेका उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यसलाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रले सूचनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई सूसुचित गराउनुपर्नेमा जोड दिनुभयो ।  

    मानव बेचबिखन तथा ओसारपसारका कारण पीडित र प्रभावितलाई सम्मानपूर्ण जीवनयापन गर्न उपयुक्त वातावरण सिर्जना गर्न सरकार, नागरिक समाज र सबै सरोकार भएका निकायबीच हातेमालो गर्नुपर्नेमा प्रदेश प्रमुख भट्टले बताउनुभयो । 

    सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै बालबालिका तथा लैङ्गिक समानतासम्बन्धी नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने प्रदेश प्रमुख भट्टले बताउनुभयो । 

    सम्मेलनमा छिमेकी राष्ट्र भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत विभिन्न मुलुकमा सामाजिक तथा बालबालिकाका क्षेत्रमा कार्यरत अभियानकर्मीको सहभागिता छ । नेपालमा विसं १९८१ मा दासत्व उन्मुलन, विसं २०५८ मा कमैया श्रम निषेध ऐनमार्फत सबै प्रकारका दास प्रथाको अन्त्य र विसं २०६३ मा हलिया प्रथा अन्त्य र हरूवाचरूवा समुदायको मुक्ति घोषणा गरिएको थियो । रासस


    तेस्रो आँखा