• ट्रेण्डिङ्ग :
सल्यानमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

सल्यानमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु


  • 1.2K
    SHARES
    • भाद्र २७, २०८३ शनिबार
    • १ हप्ता अघि
    • 1.8K Views

    सल्यानमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

    सल्यान, भदौ २७ गते । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन् ।

    images

    सिम्कबाट गाउँपालिकाको केन्द्र लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो जिप शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका दुई जनाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो । रेशम बुढाथोकी र बिपना बुढाथोकीलाई बिहान १०ः२२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय चालक भुपाल पुन गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।

    सोही ठाउँका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली पनि घाइते हुनुभएको छ । बोहराको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ भने वलीको पनि टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी घाइते हुनुभएको छ । उहाँको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको बताइएको छ ।

    घाइते चार जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ । अन्य दुई जनालाई जिल्ला अस्पताल सल्यान पठाइएकोमा उपचारका क्रममा रेशम बुढाथोकी र बिपना बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्तीमगरको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा परेको बोलेरो जिप घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा