• ट्रेण्डिङ्ग :
समृद्ध नेपाल निर्माणमा साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

समृद्ध नेपाल निर्माणमा साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति


  • 1.3K
    SHARES
    • आश्विन २२, २०८३ बिहीबार
    • १९ घण्टा अघि
    • 2.0K Views

    समृद्ध नेपाल निर्माणमा साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    काठमाडौँ, असोज २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभइ राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्पबाट सम्भव हुने बताउनुभएको छ।

    images

    नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले गर्दैआएको योगदानको प्रशंसा गर्नुभयो।

    राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। महासङ्घको सङ्गठनात्मक विस्तार र महासङ्घमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको प्रगति भएको उल्लेख गर्दै उहाँले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

    सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । यी दुई पक्षबिचको विश्वास र सहकार्यले आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्ने राष्ट्रपति पौडेलले बताउनुभयो।

    उहाँले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढङ्गले उपयोग गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

    विशेषगरी देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमको सम्भावना सिर्जना गर्नु साझा दायित्व भएको राष्ट्रपति पौडेलले बताउनुभयो । डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासङ्घले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुगाउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।रासस

     


    तेस्रो आँखा