हिमालको काखमा ढोरपाटन (फोटो फिचर)

हिमालको काखमा ढोरपाटन (फोटो फिचर)


  • 3.0K
    SHARES
    • जेठ १९, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 4.6K Views

    हिमालको काखमा ढोरपाटन (फोटो फिचर)

    बागलुङ, जेठ १९ । विशाल हरियाली घाँसे मैदान, नजिकै ठिङ्ग उभिएका हिमाल, शान्त र चिसो वातावरणले भरिएको ढोरपाटन पुग्दा जो–कोही पर्यटकलाई फरक संसारमा पुगेजस्तो अनुभूति हुन्छ । खुला आकाश, स्वच्छ हावा र विस्तृत फाँटले सिँगारिएको यो क्षेत्र प्रकृतिप्रेमीका लागि वास्तविक स्वर्गजस्तै मानिन्छ ।

    images

    समुद्री सतहबाट करिब २ हजार ८ सय ५० मिटरको उचाइदेखि फैलिएको यस क्षेत्रमा बिहानको समयमा घाँसे मैदानमा जमेको शीतबिन्दु र टाढाबाट देखिने सेता हिमालको दृश्य अत्यन्त मनमोहक हुन्छ । ढोरपाटनको शान्त वातावरण र प्राकृतिक मौनताले सहरको कोलाहलबाट थकित आगन्तुकलाई मानसिक शान्ति प्रदान गर्ने गर्दछ ।

    ढोरपाटन क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाभित्र पर्छ । तर ढोरपाटन सिकार आरक्ष भने बागलुङ, रुकुम पूर्व र म्याग्दी जिल्लासम्म फैलिएको छ । हिमाली सौन्दर्य, खुला घाँसे मैदान र दुर्लभ वन्यजन्तुका कारण यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ पदयात्रा, वन्यजन्तु अवलोकन, घोडचढी र फोटोग्राफीका लागि पर्यटकहरू आउने गरेका छन् । प्राकृतिक विविधता र मौसमी सौन्दर्यका कारण ढोरपाटनलाई गण्डकी प्रदेशको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ ।

    ढोरपाटन क्षेत्रमा अवस्थित उत्तरगङ्गा ढोरबराह मन्दिर धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमस्थलका रूपमा परिचित छ । यहाँ विशेष गरी छोरा नहुने दम्पतीहरूले पुत्र प्राप्तिको कामना गर्दै बर माग्न आउने परम्परा रहेको स्थानीय बताउँछन् । स्थानीय विश्वासअनुसार बर माग्न आउने भक्तजनहरूले सर्वप्रथम उत्तरगङ्गा मूल क्षेत्रका २२ वटा धारामा स्नान गर्ने प्रचलन छ । स्नानपछि शरीर र मन शुद्ध भएको विश्वास गरिन्छ ।

    त्यसपछि भक्तजनहरू बराह मूलमा पुगेर दीप प्रज्वलन गर्ने, फूलपाती र अक्षता चढाउने तथा बहरे गोरुहरूको पूजा गर्ने परम्परा रहेको छ । साथै २२ वटा धजा (ध्वजा) चढाउने धार्मिक विधि पूरा गरेपछि मात्र बर माग्ने प्रक्रिया सम्पन्न हुने विश्वास गरिन्छ । प्रकृति, संस्कृति र आस्थाको संगम बनेको ढोरपाटन आज केवल पर्यटकीय गन्तव्य मात्र नभई नेपालको अनुपम प्राकृतिक सम्पदाका रूपमा परिचित रहेको छ ।

     


    तेस्रो आँखा