• ट्रेण्डिङ्ग :
हावाहुरीसँगै वर्षा, तीन दिनसम्म मौसम प्रतिकूल रहने

हावाहुरीसँगै वर्षा, तीन दिनसम्म मौसम प्रतिकूल रहने


  • 1.3K
    SHARES
    • आश्विन २१, २०८३ बुधबार
    • २ दिन अघि
    • 1.9K Views

    हावाहुरीसँगै वर्षा, तीन दिनसम्म मौसम प्रतिकूल रहने

    काठमाडौं, असोज २१ गते । काठमाडौं उपत्यकासहित देशको विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम स्थिर नहुने जानकारी दिनुभयो । 

    images

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा आज मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशको केही स्थानमा भारी वर्षासमेत हुनसक्ने उहाँले बताउनुभयो ।

    “आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना छ । धेरैजसो ठाउँमा मध्यम वर्षा हुने देखिन्छ, कतैकतै भारी वर्षासमेत हुन सक्छ” मौसमविद् लामिछानेले भन्नुभयो । विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    देशको विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ । पछिल्लो केही घण्टामा चितवन, पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो । नवलपुर, तनहुँ, गोरखा, अर्घाखाँची र रूपन्देहीलगायत क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको उहाँले बताउनुभयो ।

    काठमाडौंमा हावाको गति बढिरहेको छ । मौसमविद् लामिछानेका अनुसार बिहान बढी  गतिमा रहेको हावा अहिले काठमाडौंको पश्चिमी क्षेत्रमा पनि तीव्र रुपले हावा चलेको छ । चितवन–हेटौँडा–मकवानपुर आसपास विकसित भएका बादल काठमाडौं उपत्यकातर्फ सर्दै आएकाले हावाहुरीसँगै वर्षाको सम्भावना बढेको उहाँले बताउनुभयो ।

    “यहाँ मेघगर्जन, चट्याङसहित पानी पर्ने खालका बादल विकसित भइरहेको छ । पानी परेपछि हावाको गति क्रमशः कम हुँदै जाने देखिन्छ” उहाँले भन्नुभयो ।

    शुक्रबारसम्म मौसमी गतिविधि

    मौसमविद् लामिछानेका अनुसार आजको तुलनामा बिहीबार केही सुधार देखिए पनि पहाडी र तराईका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहनेछ । शुक्रबारसम्म विभिन्न स्थानमा बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्ने उहाँको भनाइ छ ।

    उहाँका अनुसार वर्षा लामो समय निरन्तर भइरहनेभन्दा छोटो समयमा तीव्र हुने र केही समयपछि रोकिने प्रकृतिको हुनेछ । शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको छ ।

    मनसुन बाहिरिने क्रममा रहेको र पश्चिमी वायुको प्रभावसमेत देखिएकाले देशभर एकै प्रकारको मौसम नदेखिएको मौसमविद् लामिछानेले बताउनुभयो । यही कारण एक स्थानमा घाम लागिरहेका बेला अर्को स्थानमा मेघगर्जनसहित वर्षा हुने अवस्था देखिएको उहाँको भनाइ छ ।

    दसैँअघिको मौसमी अवस्था

    दसैँ नजिकिँदै गर्दा केही दिन मौसम अस्थिर हुने भए पनि अहिलेको पूर्वानुमानले लामो समयसम्म लगातार वर्षा हुने अवस्था नदेखाएको मौसमविद् लामिछानेले बताउनुभयो । छोटो समयमा हावाहुरी, चट्याङ, असिना र तीव्र वर्षा हुनसक्ने भएकाले यात्रा तथा बाहिरी काममा निस्कनेले तत्कालीन मौसम सूचना हेर्नुपर्ने लामिछानेले जानकारी दिनुभयो ।


    तेस्रो आँखा