मुस्ताङ–कर्णालीका भेडाच्याङ्ग्रा बेचेर भित्रियो साढे ३५ करोड

मुस्ताङ–कर्णालीका भेडाच्याङ्ग्रा बेचेर भित्रियो साढे ३५ करोड


  • 2.4K
    SHARES
    • आश्विन २९, २०८३ बिहीबार
    • २ हप्ता अघि
    • 3.7K Views

    मुस्ताङ–कर्णालीका भेडाच्याङ्ग्रा बेचेर भित्रियो साढे ३५ करोड

    मुस्ताङ, असोज २९ । दसैँलाई लक्षित गरी मुस्ताङबाट १३ हजार ७१७ भेडाच्याङ्ग्रा बाहिरिएका छन् । बिहीबारसम्म मुस्ताङका पाँचवटा स्थानीय तहका किसानले पालेका तथा कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्ला लगायतका जिल्लाबाट ल्याइएका भेडाच्याङ्ग्रा बिक्रीबाट ३५ करोड ५३ लाख ८८ हजार रुपियाँ बराबरको कारोबार भएको छ ।

    images

    कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष मुस्ताङका किसानले पालेका सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा बिक्रीका लागि बाहिरिएका छन् । त्यस्तै, डोल्पाबाट तीन हजार ५५१, मुगुबाट २६० र जुम्लाबाट ३०० भेडाच्याङ्ग्रा ल्याइएको थियो । तिब्बत हुँदै कोरला नाकाबाट ४३८ च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बाहिरिएका छन् ।

    कार्यालय प्रमुख डा. अर्यालले दसैँलाई लक्षित गरी ल्याइएका अधिकांश भेडाच्याङ्ग्रा बजारमा पुगिसकेको बताउनुभयो । उहाँले अब केही सङ्ख्यामा मात्र भेडाच्याङ्ग्रा आउने र तिहारका बेला पनि बजारमा बिक्री हुने बताउनुभयो ।

     

    उहाँका अनुसार मुस्ताङ र डोल्पामै उत्पादन भएका भेडाच्याङ्ग्रा बजारमा आउन थालेपछि चीनको तिब्बतबाट आउने भेडाच्याङ्ग्राको सङ्ख्या घटेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा १५ हजार ६०० भेडाच्याङ्ग्रा बिक्रीबाट मुस्ताङमा ३६ करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको थियो ।

    मुस्ताङका किसानले गोठबाटै वा आफैँ बजारमा लगेर भेडाच्याङ्ग्रा बिक्री गर्दै आएका छन् । पशुपालक किसानले भेडाच्याङ्ग्राको जात, उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ५२ हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेका छन् । यस वर्ष तिहारका बेला पनि करिब दुई करोड रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष एक करोड रुपियाँभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको कार्यालय प्रमुख डा. अर्यालले बताउनुभयो ।

    बिक्रीका लागि ल्याइएका भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि राखिएको गोठ अहिले रित्तिँदै गएको छ । मुस्ताङका लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भेडाच्याङ्ग्रा उत्पादनका प्रमुख क्षेत्रका रूपमा चिनिन्छन् ।

    मुस्ताङका पशुपालक किसानका साथै म्याग्दी, कास्की, काठमाडौँलगायत विभिन्न जिल्लाबाट आएका व्यापारीले भेडाच्याङ्ग्रा खरिद गरी बजारमा बिक्री गर्ने गरेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका किसान आङयाल गुरुङले यस वर्ष एक करोड ५० लाख रुपियाँभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा बिक्री गरेको बताउनुभयो ।

    किसान गुरुङले बाढीपहिरोका कारण भेडाच्याङ्ग्रा बजारसम्म पुर्‍याउन कठिनाइ भएको बताउनुभयो । उहाँले अन्य व्यापारीका बथानसँग मिसाएर लैजानुपर्दा समस्या हुने गरेको र चरन क्षेत्रमा वन्यजन्तुबाट जोगाउनसमेत कठिन हुने बताउनुभयो । मेहनतको प्रतिफल लिन तीन वर्षसम्म कुर्नुपर्ने उहाँको भनाइ छ ।

    सामान्यतया एउटा भेडाच्याङ्ग्रालाई मासुका लागि तयार पार्न तीन वर्षसम्म पाल्नुपर्ने हुन्छ । त्यस अवधिमा चरन, खोप, गोठालो र अन्य व्यवस्थापनमा खर्च लाग्ने किसान बताउँछन् । रोज्जा च्याङ्ग्रा तयार हुन करिब चार वर्ष लाग्ने जनाइएको छ ।

     

    प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट करिब एक हजार ४५० भेडाच्याङ्ग्रा कम आएको व्यापारी ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । काठमाडौँबाट च्याङ्ग्रा खरिद गर्न मुस्ताङ पुग्नुभएका श्रेष्ठका अनुसार आपूर्ति घट्दा बजारमा मूल्य बढेको छ ।

    समुद्री सतहदेखि करिब छ हजार मिटरसम्मको उच्च हिमाली क्षेत्रमा पाइने भेडाच्याङ्ग्रा कठोर चिसो र कम अक्सिजन भएको वातावरणमा हुर्किने गर्छन् । लेकाली वनस्पति तथा जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा हिमाली च्याङ्ग्राको मासुको माग बढी हुने गरेको छ ।


    तेस्रो आँखा