मुस्ताङ, कात्तिक ३ गते । गत महिना अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको मालढुंगा–बेनी जोमसोम–कोरला सडक खण्डमा एक अर्बको हाराहारीमा भौतिक संरचनाहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
असोज ८ देखि ११ गतेसम्मको भिषण बर्षासँगै मालढुंगादेखि जोमसोमसम्म करिब ६० स्थानमा भएको क्षतिका कारण दुई साता कोरला नाकासँगको सिधा यातायात सम्पर्क विच्छेद भएको थियो ।
कालिगण्डकी करिडोर अन्तर्गत म्याग्दी, बागलुङ र पर्वत क्षेत्रको सडक सञ्जालमा १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरो र पोखरेबगरको पक्की पुलको पहुँचामार्ग बनाएको अवस्थाको प्रारम्भिक क्षतिको मूल्याङ्कनमा ९५ करोड रुपियाँभन्दा बढी रहेको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।
आयोजना प्रमुख शर्माले भन्नुभयो, ‘‘सबैभन्दा धेरै क्षति म्याग्दी खण्डमा भएको छ, प्रारम्भिक क्षतिसँगै थप काम दसैंलगत्तै हुने छ ।’’ आयोजना प्रमुख शर्माका अनुसार पर्वतको जलजला गाउँपालिका फर्से, केराबारी, लामाबगर, म्याग्दीको रघुगंगा गाउँपालिका तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, अन्नपूर्ण गाउँपालिका महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइठेभिर, खामभित्ता, सुकेबगर क्षेत्रमा पहिरो र कटानले ठुलो क्षति भएकाले प्रारम्भिक मर्मतले मात्रै सम्भव नहुने बताउनुभयो ।
सडकलाई बर्खाको समयमा थप क्षति हुने सम्भावना भएकाले पूरानै अवस्थामा फर्काउन चार अर्ब बजेटको आवश्यकता पर्ने अनुमान गरिएको आयोजना प्रमुख शर्माको भनाइ छ । १ सय ८६ किलोमिटर दूरीको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक खण्डमा ७६ किलोमिटर लामो बेनी–जोमसोमको करिब २२ किलोमिटर क्षेत्र बाढीपहिरोको उच्च जोखिममा छ ।
भिरालो भूभाग, भूमिगत पानी तथा कमजोर भू–बनोटका कारण यस क्षेत्रमा बाढी,पहिरो र नदी कटानले बर्खाको करिब चार महिना सडकखण्ड नियमित सञ्चालनमा समस्या हुनेगरेको छ ।
यस पटक नदी कटानसँगै पहाड चर्किएको नयाँ पहिरो खसेकाले थप जोखिममा परेको छ । चीनसँग जोडिएको अन्य नाकाहरू बन्द भएको अवस्थामा चीनबाट पैठारी हुने एउटा मात्रै नाका भएकाले हाल मर्मत गरिएको सडक कन्टेनरका लागि उपयुक्त नभएको जानकारहरुको भनाइ छ ।
