• ट्रेण्डिङ्ग :
चिकित्सक टोली मनाङ पठाइयो, हिमपहिरोमा बेपत्ताको खोजी स्थगित

चिकित्सक टोली मनाङ पठाइयो, हिमपहिरोमा बेपत्ताको खोजी स्थगित


  • 2.3K
    SHARES
    • आश्विन १२, २०८३ सोमबार
    • १ हप्ता अघि
    • 3.6K Views

    चिकित्सक टोली मनाङ पठाइयो, हिमपहिरोमा बेपत्ताको खोजी स्थगित

    कास्की, असोज १२ । हिमपहिरोसँगै आएको बाढीले धनजनको क्षति र जनजीवन प्रभावित बनेपछि गण्डकी प्रदेश सरकारले चिकित्सक टोली मनाङ पठाएको छ । मनाङमा आवश्यक औषधीसहित दुई जना चिकित्सक र एक जना नर्सलाई हेलिकप्टरमार्फत् सोमबार पठाइएको हो ।

    images

    प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश मातहतका अस्पतालहरूलाई आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न तथा विपद्को सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्ण तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ । 

    गण्डकीका मुख्य सचिव भूपाल बरालले मौसमी विपद्का घटनाबारे छलफलसहित व्यवस्थापनका लागि विभिन्न निर्णय भएको जानकारी दिनुभयो । 

    “बैठकमा क्षतिको विवरण लिने, तत्काल पुनर्निर्माण थाल्ने, चाडपर्वको आउँदै गरेकाले सडक र राजमार्गहरू खुलाउने, त्यो सम्भव नभए वैकल्पिक बाटो व्यवस्थापन गर्नेबारे पनि आवश्यक निर्णय भएका छन्,” उहाँले भन्नुभयो । 

    मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी निधन भएका चार जनाको शव फेला परेको छ । दुई जनाको शव आइतबार फेला परेकोमा सोमबार थप दुई जनाको शव फेला परेको हो ।

    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले हिमपहिरोमा अझै १२ जना हराइरहेको र अन्य ११ जना सम्पर्कमा आएको जानकारी दिनुभयो । बेस क्याम्पका लागि कुल २७ जनाको टोली गएको थियो । 

    उहाँले जिल्लामा बिजुली बत्तीको व्यवस्था नहुँदा सूचना, सम्पर्क र उद्धार कार्यमा पनि कठिनाई भएको बताउनुभयो ।

    “यहाँ बत्ती छैन, सोलारको व्यवस्था पनि छैन, हामीले लिखित जानकारी केही पठाउन सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “मस्र्याङ्दी थुनिएकाले पारी जान सक्ने अवस्था पनि छैन । पारी ८–१० घर जोखिममा परेका छन् भन्ने खबर पाएका छौँ ।”

    यसैबिच नेपाल नेसनल माउन्टेन गाइड एसोसियसनले उद्धारका काम जारी राखेकोमा सोमबारबाट रोकेको छ । एसोसियसनका अध्यक्ष तुलसिंह गुरुङले अहिले उद्धार सम्भव नभएकाले काम रोकिएको जानकारी दिनुभयो । 

    “सोमबार १०–१२ फिट खन्दा पनि हिउँ नै भेटियो । यो हिउँ नपग्लिई उद्धारका काम सम्भव हुँदैन,” उहाँले भन्नुभयो, “त्यसैले हाम्रो टोली त्यहाँबाट फर्किइसकेको छ ।” 

    माथिको भिरालो भूभागबाट एक्कासि हिमपहिरो आउँदा टोलीका सदस्यहरू पुरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

    आइतबार फेला परेका दुई शवको पहिचान खुलेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ का छेवी भोटे र सङ्खुवासभाकै भोटखोला–२ का पासाङ भोटेको शव भेटिएको मनाङ प्रहरीले जनाएको छ । 

    सोमबार गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–२ का ३० वर्षीय वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–९ का घनश्याम राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहोराले जानकारी दिनुभयो । 

    हिम्लुङ बेस क्याम्प पुग्न मनाङबाट पैदल तीन दिन लाग्छ । सात हजार एक सय २७ मिटर अग्लो हिमाल सगरमाथा आरोहणअघि पर्वतारोहीले आरोहण गर्ने चर्चित हिमाल हो । 

     


    तेस्रो आँखा